Sunday, February 18, 2018

केण्टकीलाई काउण्टी बोझ :नेपालले सिक्न सक्छ पाठ


-बिष्णु कार्की
अमेरीकाको ५० राज्यहरुमध्ये  म बसोबास गर्ने केन्टकी राज्य काउण्टीहरुको (प्रशासनिक एकाइ जो नेपालको तत्कालिन जिल्ला विकास समितिको इलाका जस्तो ) को आर्थिक बोझबाट थिचिएको छ । धेरैजसो  काउण्टीमा जनसंख्या घटेको घटै छ । प्रशासनिक खर्च बढीरहेको छ । ति काउण्टीहरुले तरक्की गर्न सकेका छैनन । कयौ काउण्टीहरुलाई त खर्च धान्न नै धौ धौ परिरहेको छ ।अब काउण्टीहरुलाई समायोजन गरेर आर्थिक खर्च घटाउनुपर्छ भन्ने बहश सुरु भएको छ ।
संघीयताको चरणमा प्रवेश गरेर भर्खरै यसको अभ्यासरम्भ गरेको नेपाललाई सकेसम्म् सानो राज्य र सानो एकाइमा बिभाजित गर्ने जुन अभ्यास भएको छ त्यसले कालान्तरमा कसैको पनि भलो गर्दैन भन्ने अमेरीकाको पुरानो राज्य केन्टकीको यो अवस्था उदाहरण हुनसक्छ ।
३९ हजार ७ सय २८ बर्ग माइल क्षेत्रफल रहेको केण्टकीमा १ सय २० काउण्टी रहेको छ । सबैतिरका घरहरुलाई पीच सडकले छोएको छ । बिजुली बत्ती कहिले निभ्दैन । राज्यका सबै सेवा सुविधा प्राप्त छ । तर पनि धेरै काउण्टीको जनसंख्या घटिरहेको छ । बसाइ सर्ने क्रम रोकिएको छैन । तर एउटा काउण्टीको रुपमा राज्यले स्थापना गर्नुपर्ने प्रशासनिक, न्यायिक निकायमा हुने खर्चभने बढीरहेको छ । आखिर शहरी आकर्षण र जनसंख्या पलायनको कारण बिकासमात्रै पनि होइन भन्ने यो एउटा उदाहरण हो ।
'हामीसंग करबाट पाल्नुपर्ने धेरै सरकारी निकायहरु भए । अब काउण्टीको संख्या घटाउनुपर्छ' ली काउण्टीबाट प्रतिनिधित्व गर्ने, रिपब्लिकन हाउस मेम्वर टोबी हेराल्ड भन्नुहुन्छ, 'कमसेकम केण्टकीमा काउण्टीको संख्या घटाएर ५४ बनाउनुपर्छ ।' उहाले प्रतिनिधित्व गर्ने ली काउण्टीको जनसंख्या ६ हजार ८ सय ५० मात्रै रहेको छ । उहां करिब ५० हजार बासिन्दालाई समेटेर एउटा काउण्टी बनाउनुपर्ने बताउनुहुन्छ । हेराल्डले राज्य संसदमा यससंग सम्विधत बिधेयक पनि पेश गर्नुभएको छ ।
५० हजार वासिन्दा भन्दा कम रहेको काउण्टीको संख्या केण्टकीमा १ सय १ वटा रहेको छ । रोवर्टसन काउण्टीमा २ हजार १ सय ५५ मात्रै जनसंख्या रहेको छ । जुन जनसंख्या जेफरशन काउण्टीको एउटा सानो शहर विण्डी हिल्सको भन्दा पनि कम हो ।
आखिर काउण्टी जतिसुकै सानो भएपनि राज्यले त्यहा स्थापना गर्नुपर्ने कानुनी, प्रशासनिक, सुरक्षा, विकास लगायतका सबै विभागहरु राख्नुपर्छ जसले प्रशासनिक खर्चमा ह्वात्तै बढाइदिएको छ । यस बर्षको बजेट भाषणमा केन्टकीका गर्भनर म्याट बेभिनले राज्यमा खर्चको सन्तुलन गर्न शिक्षा क्षेत्रको बजेट कटौती गर्ने प्रस्ताव गर्नुभएको छ । राज्यले आर्थिक संघर्ष गरिरहनुपरेको छ ।
उहां यसरी काउण्टीहरु समयोजन गर्दा राज्यले बार्षिक १ सय मिलियन डलर बचत गर्न सक्ने जुन रकमलाई विकासमा लगानी गर्न सकिने बताउनुहुन्छ ।
सन २०१० को जनगणना पछि केण्टकीका ७१ वटा काउण्टीमा जनसंख्या घटेको पाइएको छ । जनसंख्या घट्नुको कारण बसाइसराइ र प्रजनन दर दुबैलाई लिइएको छ । केण्टकीको पूर्वी क्षेत्रमा एकदमै गर्मी हुने र राष्टिय बन क्षेत्र समेत भएकाले बस्ती बिस्तारमा कठिनाइ मानिन्छ ।
'हरेक ग्रामीण क्षेत्र समेटेका काउण्टीहरुले जनसंख्या गुमाइरहेका छन', हेराल्ड भन्नुहुन्छ,' यो दिनप्रतिदिन अझ तिब्र गतिमा अघि बढिरहेको छ ।'
औसतमा एक काउण्टी बराबर केण्टकीमा ३७ हजार १ सय २० जनसंख्या बसोबास गर्छन । यो छिमेकी राज्यहरुको तुलनामा एकदमै कम जनसंख्या  हो । ओहायोगमा औसतमा एक काउण्टी बराबर १ लाख ३२ हजार ४ सय ८० जनसंख्या ,इण्डियानामा ७२ हजार ४ सय ६५ ,टेनीसीमा ७० हजार ७ सय र भर्जिनियामा ८९ हजार १ सय ६० जनसंख्या बसोबास गर्छन ।
स्टेट डाटा सेन्टरले सन २०४० सम्म केण्टकीका दुइ तिहाइ काउण्टीहरुको जनसंख्या घटेर जाने आंकडा प्रक्षेपण गरेको छ ।
तर सन २०१० को जनगणना अनुसार राज्यको १० शहरमध्ये जनसंख्या तीब्र गतिमा बढीरहेको मध्ये ४ शहरभित्र पर्छ लुइभील । यसरी एकातिर शहरी क्षेत्रको जनसंख्या बढेर आर्थिक बृद्धिदरमा फडको मार्दै जानु र अर्कोतिर जनसंख्या र आर्थिक दर ओरालो लाग्दै जाने काउण्टीहरुको संख्या थपिदै जानुले  असन्तुलन बढ्न जाने र यसले भविष्यमा थप समस्या निम्त्याउने अनुमान गर्नुहुन्छ , हेराल्ड ।
उहा प्रश्न गर्नुहुन्छ के भविष्यमा जेफरशन काउण्टीले त्यस्ता गरीब काउण्टीहरुको उन्नतिको लागि लगानी गर्छ ? गर्दैन भने सबैले बेलैमा सोच्नुपर्छ ।
यो तथ्यांकबाट पनि नेपालले समयमै शिक्षा लिन सक्छ । प्रशासनिक निकायलाई सानो बनाएर अधिकार र बिकास बांडफांड गर्दा मात्रै देश सन्तुलित हुन सक्दैन ।
डब्लुडीआरडी र पत्रकार मार्कस ग्रीनको रिपोटको सहयोगमा । केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment