Monday, March 5, 2018

जेफरशन काउण्टीमा हेपाटाइटिस ए को चिन्ता


केण्टकीको जेफरशन काउण्टीमा हेपाटाइटीस ए प्रकोपको रुपमा फैलिएपछि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
लुइभिल मेट्रो डिपार्टमेण्ट अफ पब्लिक हेल्थ एण्ड वेलनेशले नोभेम्बर ११ देखि अहिलेसम्म् जेफरशन काउण्टीमा १ सय १५ जनामा हेपाटाइटिस ए फेला परेको जनाएको छ । जेफरशन काउण्टीमा गत बर्षहरुमा बार्षिक औसत २० जनामा हेपाटाइटिस ए देखापर्ने गरेको थियो । तर पछिल्लो महिनाहरुमा यसको संक्रमण धेरैमा पाइएपछि चिन्ता ब्यक्त गरिएको हो । दुषित सतहको कारण फैलने हेपाटाइटिस ए सामान्य सम्पर्कबाटै संक्रमण हुन्छ ।
हेपाटाइटिस ए संक्रमित ब्यक्तिले छोएको खाना तथा अन्य बस्तुहरु जो कसैले प्रयोग गर्दा पनि संक्रमणको सम्भावना रहन्छ । हेपाटाइटिस ए संक्रमित ब्यक्तिले छोएको कुनै सतहमा छुदा समेत संक्रमणको खतरा हुने चिकित्सकहरुले बताएका छन् । जस्तै गत शुक्रबार मात्र डिक्सी हाइवेस्थित क्रोगर स्टोरको एक कामदारमा हेपाटाइटिस ए फेला परेको थियो । क्रोगरले उसले स्टोरमा छोएको सबै बिक्रिको फुड नष्ट पारेको थियो भने सबै कष्टमरलाई उक्त क्रोगर स्टोरबाट किनेको फुड नष्ट पार्न आग्रह गरेको थियो ।
वान्ता भइरहनु, पेट दुख्नु , शरीर तथा आंखा पहेलो हुदै जानु, पिसाव कालो जस्तो देखिनु आदि यसको लक्षण हुन ।
एकदमै बिरामी हुनु र तुरुन्तै ठिक भएको महशुस गर्नु पनि यसको लक्षण अन्तरगत पर्छ । यसबाट जोगिने सबैभन्दा उपयुक्त उपाय भनेको भ्याक्सिन नै हो ।
भ्याक्सिन दुइ पटक लिनुपर्छ । पहिलो चोटि लिएको छ महिनापछि अर्को भ्याक्सिन लिनुपर्छ । एक पटक मात्र भ्याक्सिन लिए केही बषै जोगिन सकिन्छ तर दुइ पटक नै लिए यसले आजीवन काम गर्छ ।
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment