Saturday, August 26, 2017

चिट्ठा जित्ने महिलाको कुरा सुनेपछि .....................

बिष्णु कार्की
एक जना अमेरीकी महिलाले नेपालीमा हिसाब गर्दा ५१ अर्ब भन्दा बढी राशीको चिट्ठा जितेको समाचार आयो । बीबीसी हेरे । समाचार एकदम संक्षेपमा थियो । चिट्ठा जित्ने म्यासाचुसेटसकी महिला भएकाले त्यहाका स्थानीय मिडीयाहरु नियाल्न थाले । कारण ति महिलाबारे म अलि धेरै जान्न चाहन्थे । अनि आफ्ना ब्लगका पाठकहरुलाई यसबारे समाचार पनि दिउ भन्ने लागेको थियो । बाफ रे ! त्यत्रो अबौै जित्ने महिलाको योजना के होला ?  म भए त यसो गर्थे , उसो गर्थे जस्ता कुराहरु मेरो मनमा पनि आइरहेको थियो  ।
अन्तत उनको भविष्यको योजना सुन्ने मौका मिल्यो । पहिलो थियो, म अब काममा फर्किन्न दोश्रो थियो, बाकी जिन्दगी ओछ्यानमै पल्टेर बिताउछु र तेश्रो कारको किस्ता एकमुस्ट तिर्छु । दुई सन्तानकी आमा ५३ बर्षीय ति महिलाको योजना सुनेर सुरुमा त ५१ अर्बको अघि त्यो कुनै योजनानै होइन जस्तो लाग्यो तर विस्तारै सोच्दै गए । ति महिलाको योजनाले ९० प्रतिशत अमेरीकनको भावनाको प्रतिनिधित्व गरेको जस्तो लाग्यो ।
आखामा छेकबार लगाएको टमटमको घोडाजस्तो दैनिक काममा जोतिदा जोतिदै जिन्दगी विताउनुको पीडा आम अमेरीकनहरुको साझा पीडा हो । केही नेपालीहरुले त अझ यसलाई घण्टा हान्नुको रुपमा पनि अथ्र्याएका छन् । बिरामी होस या निन्द्रा लागोस अनि अल्छी, थकाइ जे सुकै लागोस काममा जोतिनु यहाको दैनिकि नै हो ।  बिचरीले ३२ बर्षदेखि मेडिकल सेन्टरमा काम गर्दा त्यस्तो भोगाइ त कति भोगिन कति । घर बस्नु र आराम गर्नु उनको सपना थियो रे । हो अमेरीकाले यस्ता कयौ सपनाहरुलाई निर्मम किल्चिएको छ । यस्तै सपनाहरुलाई टेकेर विपनामै सपना देखाउने मुलुक हो अमेरीका ।
ओछ्यानमा मनलाग्दी पल्टिरहन पाउनु पनि यहाको अर्को सौभाग्य हो । हेर्दा सामान्य लाग्ने यो सुविधा पनि यहा देखिने अर्को सपना हो । कार्यक्षेत्रमा हुने सिफ्ट सिस्टमको समय विभाजनले बिशेषगरी विहानी समयमा काममा जानेहरुका लागि ओछ्यानमा पल्टिनु एउटा सपना नै हो । समयमै काममा पुग्नै पर्ने, आ आज आउदिन भन्न नपाइने र बार्षिक रुपमा पाइने विदाको संख्या् नगण्य हुनाले ओछ्यान सपना पनि विरलै देख्न पाइने दुर्लभ सपना नै हो । अझ ओभरटाइमको चक्कर र दुई तीनवटा काम समेत गर्नुपर्ने अवस्था बोकेकाहरुको लागि त यो मीठो कल्पना नै हो । ति महिलाललाई पनि लाग्यो होला । मनग्ये पैसा भै हाल्यो । अब आरामले ओछ्यानमा पल्टने दिन आयो ।

अर्को कुरा कारको रकम एकैपटक तिर्ने ति महिलाको कुरा । हो अमेरीकनहरुलाई काममा कुदाइरहने र ओछ्यानमा पल्टीरहने नदिने थुप्रै मध्येको े एक कारण हो यो । एकै पटक पुरै रकम तिरेर कार किन्नेहरु त साएदै होलान अमेरीकामा । कार किन्यो र त्यही कमाएको पैसाले किस्ता तिरीरह्यो । घर किन्यो र जीवनभर किस्ता तिरिरह्यो । गाडीको इन्सुरेन्स र आफ्नो इन्सुरेन्सको मासिक किस्ता तिरीरह्यो । एक महिना उधारोमा खायो र क्रेडिक कार्डको किस्ता तिरिरह्यो । किस्तै किस्ताले बाधेको छ यहाको जिन्दगीलाई । साएद ति चिट्ठा विजेता महिलाललाई पनि लाग्यो होला अब यो किस्ताको बन्धनबाट मुक्ति मिल्यो ।

No comments:

Post a Comment