Thursday, February 15, 2018

क्रुजको क्रुरता र फ्लोरिडाको बिद्यालय


दुनिया प्रेम बांडिरहेको थियो । जताततै माया प्रेम प्रदर्शन भइरहेको थियो । भ्यालेन्टाइन डे लाई माया अभिब्यक्त गर्ने दिवसको रुपमा चित्रित गरिएपछि यसलाई उत्सव मनाउनेहरुको संख्या बढ्दै छ ।
मायाको यो माहौलमा फ्लोरिडाका एक युवक भने घृणा भरिएको एक घातक बन्दूक लिएर बिद्यालयमा निस्किए र संसारलाई क्रुरताको एक डरलाग्दो उदाहरण दिए ।
१९ बर्षे युवक निकोलस क्रुज जसको मानसिक अवस्थालाई लिएर अहिले बिभिन्न चर्चा परिचर्चा भइरहेको छ । उनले यो क्रुरतालाई किन भ्यालेन्टाइन डे कै दिन रोजे ?भन्ने जिज्ञासा पनि सर्बत्र छ । माया र घृणा, प्रेम र क्रुरता यी विपरितार्थक शब्दहरु हुन ।
क्रुजको क्रुरताले मायाप्रेम र विश्वासमा कालो धब्बा लाउने काम गऱ्यो । साएद यो भ्यालेण्टाइन डे लेआउने बर्षहरुमा कयौलाई कालो दिनको रुपमा पछ्याइरहनेछ  । अहिलेसम्म आएका तथ्यहरु हेर्दा क्रुजको जिवनको प्रेमपाटो पनि कहालीलाग्दो छ ।
बर्षौ अघि बुवा गुमाएका क्रुजले गत थ्यांकसगिभिंगमा आमा समेत गुमाउनुपरेपछि उनी टुहुरा बनेका थिए । यहा पनि मायाको कुरा आउछ, मायाप्रेमको मुहान बन्द भएपछि साएद मान्छे कठोर बन्दो रहेछ । स्थानीय डलर स्टोरमा काम गरेर गुजारा गरिरहेका क्रुजको जीवन भने सधै विवादस्पद नै बनिरह्ययो ।अघिल्लो दिनमात्र भ्यालेन्टाइन डे मनाउन कतै जान्न भनेका क्रुज भोलिपल्ट त्यस्तो डरलाग्दो रुपमा देखिए, त्यो पनि एक बर्ष अघि आफूलाई निकालिएको बिद्यालयमा ।
मान्छे एकैपटक कोही पनि अपराधी बन्दैनन । क्रुजको जीवनको पाटोलाई केलाउने हो भने पनि उनको हिंशात्मक मानसिकतालाई सहजै अनुमान लगाउन सकिन्छ । जनावबर तथा पंक्षिको शिकार गर्न मन पराउने क्रुजले सामाजिक संजालहरुमा त्यसको गौरब गरेर फोटो प्रर्दशन गर्ने तथा बन्दुकहरुको फोटो पोष्ट गरिरहने उनको विगत त्यसको ज्वलन्त उदाहरण हो ।
छिमेकमा पालिएका घरपालुवा जनावरलाई आफ्नो कुकुर लगाइदिने र सहपाठीहरुसंग छुद्र ब्यवहार गर्ने उनी मायालु स्वभावका ब्यक्ति त हुदै होइनन ।हालै एक अध्ययनले समेत देखाएको तथ्य के हो भने सामाजिक संजालमा पोष्ट भएका ब्यक्तिका बिचार र तस्वीरहरुले समेत उसको मानसिक अवस्थालाई बुझ्न सकिन्छ ।
उनलाई बिद्यालयबाट निकालिएको घटना पनि उनको क्रुरतासंग जोडिएको छ । यसलाई माया भन्नै सकिदैन । आफ्नो पूर्व प्रेमिकालाई सताइरहने क्रुजले ति पूर्व प्रेमिकाको प्रेमीलाई हिंशात्मक धम्की दिएको कारण उनलाई बिद्यालयबाट निकालिएको बताइएको छ ।
उनले त्यतिवेर पनि झोलामा बन्दूक बिनाको गोली बोकेको पाइएको थियो । क्रुज जर्वजस्तीलाई माया ठान्थे साएद, उनले पूर्व प्रेमिकासंग देखाएको हर्कतबाट त्यस्तै प्रतित हुन्थ्यो ।
उनले मानसिक समस्यालाई लिएर खाइरहेको औषधी एकबर्षदेखि खान छाडेको कुरा पनि समाचारहरुमा जनाइएको छ । समस्या यहीनेर छ, बन्दूक खुलेआम बिक्रि हुने अमेरीकामा बन्दूकको क्रेताको पृष्ठभूमिबारे पटक्कै अनुसन्धान हुदैन । नभए त्यस्तो घातक बन्दूक किन्न उनको सहजता नहुन सक्थ्यो ।
बन्दुकबारेको बहस अमेरीकामा निकै पुरानो हो । अहिले फेरी एउटा कुरा बहशमा ल्याइएको छ । ब्यक्तिको पहिलो पाठशाला परिवार हो । यहीबाटै बालवालिकामा हिंशा विरुद्धको मनोविज्ञान जगाउनुपर्छ । कुरा त ठिकै हो, तर बन्दुक नियन्त्रणको बिषयचाहिं किन गौण बनाइन्छ ?  यसको अनुगमनलाई किन प्रभावकारी बनाइदैन ?
केनेपाल न्यूज केन्टकी लुइभील

No comments:

Post a Comment